चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते। ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ।सिकाइ उपलब्धि प्रवर्द्धन कार्यक्रममार्फत उत्कृष्ट छनोट भएका तीन विद्यालय, तीन जना शिक्षक र १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सम्मान गरेको हो।सम्मानित हुनेमा विद्यालयतर्फ फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय र वडा ५ तापेथोकको सरस्वती माध्यमिक विद्यालय रहेको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेको लक्ष्मी माध्यमिक विद्यालय सम्मानित भएको छ।सम्मानित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालयलाई २० हजार, लक्ष्मी माध्यमिक विद्यालयलाई २५ र रानी आधारभूत विद्यालयलाई ५० हजार रुपियाँ नगद प्रदान गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमारी माबो लिम्बूले जानकारी दिनुभयो।

त्यस्तै उत्कृष्ट शिक्षकतर्फ कञ्चनजङ्घा माध्यमिक विद्यालयका शिक्षक लक्ष्मी लिम्बू, विपुधाम आधारभूत विद्यालयका शिक्षक रामकुमार लिम्बू र पाथीभरा आधारभूत विद्यालयकी बाल विकास सहयोगी शिक्षक रामकुमारी लिम्बू सम्मानित हुनुभएको छ।सम्मानित तीनै जना शिक्षकलाई सम्मानपत्रका साथ पाँच हजार रुपियाँका दरले नगद प्रदान गरिएको शिक्षा विकास अधिकृत लिम्बूले बताउनुभयो।

विद्यार्थीतर्फ डोल्मा भोटे, पोमा लिम्बू, अञ्जु श्रेष्ठ, अभयना लिम्बू, तान्छोमा लिम्बू, निशा तामाङ, सन्देश लिम्बू, सन्तवीर लिम्बू, रिविस केसी र दिया लिम्बू सम्मानित हुनुभएको छ।फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत रहेका सम्मानित विद्यार्थीलाई पनि जनही एक हजार रुपियाँ नगदसहित सम्मान गरिएको रिड नेपालले जनाएको छ।

यसैगरी सरस्वती च्यारिबुक माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य फुपुडोमा शेर्पालाई पनि सम्मान गरिएको छ।रिड नेपालका अनुसार उत्कृष्ट जिम्मेवारी बहन गर्नुभएकी विव्यस सदस्य शेर्पालाई नगदसहित सम्मान गरिएको हो।फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा, सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई लगायतले विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्नुभएको थियो।

विगत केही वर्षयता प्रत्येक वर्ष उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई छनोट सम्मान तथा पुरस्कृत गर्दै आएको रिड नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिनुभयो।कार्यक्रम संयोजक पन्तका अनुसार सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको आधारमा उत्कृष्ट छनोट गरी विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने गरिएको छ।

फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर रिड नेपालले आफ्नो क्रियाकलाप गर्दै आएको छ।जिल्लाका यी दुई गाउँपालिकाका उक्त क्षेत्र तथा वडाहरू विकट साथै दुर्गममा पर्दछन्।शैक्षिक प्रवर्द्धन तथा विकास साथै स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित रिड नेपालले आफ्नो गतिविधि गर्दै आइरहेको छ।