info@reednepal.org
(977) 1 5521942 / 5010980

Blog

लकडाउनमा शिक्षा : उत्तम विकल्प ‘रेडियो’

२० वैशाख २०७७, काठमाडौं

कोरोनाको त्रासले विश्व नै अहिले घरभित्र थुनिएको अवस्था छ । नथुनियोस् पनि कसरी ? अहिलेका मितीसम्म यस महामारीको न औषधि पत्ता लागेको छ, न खोप नै बनेको छ । विश्वभरि लाखौं मानिसहरुले ज्यान गुमाइसकेका छन् । यही भयावहबाट हाम्रो देश नेपाल पनि मुक्त हुने अवस्था छैन । भलै श्री पशुपतिनाथको कृपाले अहिलेसम्म एक जना नेपालीले पनि नेपाली भुमिमा ज्यान गुमाउनु परेको छैन । यो हामी नेपालीको अहोभाग्य सम्झिनुपर्छ ।

तर यसले सिर्जना गरेको त्रासको स्थिति भने कम छैन । संक्रमणको अवस्था जटिल बन्दै गइरहेकोछ । दिनानुदिन संक्रमण व्यक्तिको संख्या थपिँदै छ । यस अर्थमा हामी सबै जना थप सचेत भइ सुरक्षित बस्नुपर्ने देखिन्छ । अहिले कोरोनाको प्रभाव हर क्षेत्रमा उत्तिक्कै परिरहेको छ । चाहे त्यो आर्थिक होस्, चाहे शैक्षिक, पछिल्लो अवस्थामा लाखौं–लाख बालबालिकाहरु लामो समयदेखि नै घरमा बस्न बाध्य भएका छन् ।

विद्यालय बन्द भएको करिब डेढ महिना भयो । गत वर्षको ६ चैत्रदेखि अधिकांश बालबालिकाहरुले विद्यालयमा टेक्न पाएका छैनन् । अझ भन्नुपर्दा शैक्षिक सत्रको शुरु हुने समय भइसक्दा पनि केही विद्यालयहरुले नतिजासमेत प्रकाशन गर्न पाएका छैनन् भने एसइइ दिने अन्तिम तयारीमा रहेका विद्यार्थीहरु घरमा नै अन्यौलको स्थितिमा रुमल्लिरहेका छन् । अहिले नै विद्यालय कहिले खुल्छन् भनेर अड्कल गर्न सकिने स्थिति देखिँदैन ।

यही अवस्थामा शिक्षा क्षेत्रका बारेमा चासो चुलिँदै गइरहेको छ । विभिन्न खाले विचारहरु सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छरपस्ट भइरहेका छन् । अहिलेको यो विषम् परिस्थितिमा लाखौं लाख बालबालिका हरुको भविष्यलाई कसरी सुनिश्चित गर्ने भन्ने सरोकारवालाहरु सबैमा चासो र चिन्ता बढेको देखिन्छ ।

कसरी विद्यालय सञ्चालन गर्ने ? कसरी विद्यार्थीहरुको सिकाइमा ध्यान दिएर विद्यार्थीहरु समक्ष पुग्न सकिन्छ ? भनेर विभिन्न बहस भइरहेका छन् । एकथरी विद्वान आइसिटीको माध्यमबाट सिकाउनु पर्छ भनेर कुर्लिरहेकाछन् भने व्यक्तिपिच्छे अलग–अलग धारणाहरु सार्वजनिक भएका छन् । हो समयसान्दर्भिक अहिलेको एकाइसौं शताब्दीमा कम्प्युटरको जमानामा उनीहरुको सोच पनि राम्रै होला तर वास्तविकतालाई नबुझेर काठमाडौंको पाँचतारे होटलमा गफ दिएजस्तो सजिलो भने छैन ।

अहिलेको अवस्थामा ‘घाँटी हेरी हाड निल्नुपर्छ ।’ भन्ने नेपाली उखानलाई मनन गर्नु सबैले जरुरी छ । अहिलेको स्थिति हेर्ने हो भने कतिपय नेपालका ग्रामीण भूभागहरुमा फोनको समेत पहुँच छैन । कतिपय नेपालीहरुको घरमा विद्यार्थीहरुका लागि टिभी भनेको कुन चराको नाम हो ? भनेजस्तै छ, इन्टरनेटको कुरा भनेको ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भने जस्तै हो ।

शहरी क्षेत्र मात्र नेपाल होइन । अधिकांश नेपालको भूगोल ग्रामीण छ । अधिकांश विद्यालयहरु गाउँमा छन् । जहाँका विद्यालयमा बत्ती छैन । आकाशको छानामुनि पठन-पाठन हुन्छ । विद्यालय जान एकसरो ड्रेससमेत नपाएर फाटेको लुगा लगाएर खालीखुट्टा विद्यालय जानुपर्ने बाध्यता छ । र यस समस्याका कारण वर्षेनी बालबालिकाहरु विद्यालय छोड्नसमेत बाध्य छन् । फोन गर्नु पर्यो भने आधा एक घण्टा हिँडेर अग्लो डाँडामा चढ्नुपर्ने स्थिति छ । या रुखको टुप्पोमा गएर सेल्फी खिचेजस्तो गरेर टावर टिपाउनु पर्ने दुर्दशा हामीसामु जीवितै छ ।

यस्तो परिवेशमा आइसिटीको कुरा गर्नु भनेको ‘भालुलाई पुराण सुनाउनु’ बाहेक केही हुँदैन । कि शहरी क्षेत्रमा हुने खाने, पहुँच, पावर, भएकाहरुका बच्चालाई मात्र लक्षित गरेर कार्यक्रम लागू गर्ने हो, भने भन्नु केही छैन । तर यदि हुँदा खाने हरुका लागि जसले टि.भी. इन्टरनेटको प्रत्यक्ष अनुहार होइन चित्रमा मात्र त्यो पनि किताबका पानामा देखेका छन् । जो दूरदराजमा भोकोपेट फाटेका लुगामा खालीखुट्टा हातमा किताब च्याप्दै विद्यालय जान विवश छन् ।

तिनीहरुलाई सम्झिने हो भने, यो आइसिटीको माध्यमबाट सिकाउने भन्ने कुरा भनेको दिवा स्वप्नबाहेक केही हुन सक्दैन । यहाँ विद्यार्थीहरुको मात्र कुरा होइन, अधिकांश विद्यालयमा एउटासम्म । कम्प्युटर डेक्सटपसमेत छैन । कम्प्युटर कुनै संघसस्थाबाट दिएको छ भने पनि बत्ती छैन । सेतो कपडाले शव छोपेझैँ गरी वर्षौंदेखि छोपेर राखिएका छन् अझ कतिपय शिक्षकलाई त कम्प्युटर सम्बन्धी ज्ञान प्राय शून्य छ । कम्प्युटर अन र अफ गर्न मेत आउँदैन भने यस्तो अवस्थामा अहिले अनलाइन कक्षा सम्भव छ ?

एकथरी विद्वानहरु विद्यार्थीसमक्ष पुग्ने माध्यम प्रिटिङ सामग्री र पाठ्यपुस्तक विद्यार्थीको घरमा नै पुर्याउने व्यवस्थाको पनि कुरा गर्छन् । जब सामान्य परिस्थितिमा समेत परीक्षा सकिसकेपछि पुस्तक पुग्ने ठाउँहरु छन् । विगतको तितो अनुभव हामी सामु ज्यूँदै छ । अहिले पनि पाठ्यक्रम नै नभएका विद्यालयको संख्या बढी नै होला ।

यस्ता खाले पीडा र तितो यथार्थहरु हामीले भोग्दै आएका छौं । शिक्षक उपस्थित भएर नै पठन-पाठन गर्दासमेत अपेक्षित सिकाइ उपलब्धि हाँसिल गर्न नसकिरहेको बेला विद्यार्थी आफैँले स्वअध्ययन गरेर यो सम्भव होला ? पट्टक्कै हुनेवाला छैन ।

त्यसो भए सही विकल्प के हो त ? 
मेरो विचारमा अहिलेको अवस्थामा थोरै भएपनि राहत महसुस गराउन सक्ने एकमात्र विकल्प भनेको ‘रेडियोको माध्यमबाट सिकाइ’ हो ।

रेडियो कक्षा संचालन हो । भलै यसमा पनि केही चुनौती नभएको भन्ने पक्कै होइनन् । श्रवण शक्ति कमजोर भएका तथा अपांगता भएका बालबालिकाहरुका लागि पक्कै गारो हुन्छ । त्यसमा पनि परिवारका सदस्यहरुको सहयोग पाए केही राहत हुन सक्छ । परिवारका सदस्यले आखिर उनीहरुसँग सम्वाद त गरेकै हुनेछन् । यसमा पनि रेडियो सुनेर आफ्ना नानीहरुका लागि दोभासेको भूमिका निर्वाह गर्न सकिन्छ ।

तर अरु विकल्प भन्दा यो विकल्पमा चुनौती कम छन् । कतिपय फेसबूकेले यसमा पुरातन पद्दति पनि भनेको पाइन्छ । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने बुझ्न जरुरी छ । अहिले प्रायः मोबाइल सबैको हातमा छ । नभए घरमा एउटासम्म मोबाइल चाँहि दूरदराजतिर पनि भेटिन्छ । चाहे त्यो आइफोन होस् वाटाटाइन्डीकम को पुरानै थोत्रे सेट किन नहोस् । ती मोबाइलमा एफएम रेडियो बज्छन् नै । कतिपय ग्रामीण बस्तीका घरघरमा अझै पनि पनासिनी फिलिप्स नामका रेडियो छँदैछन् ।

कतिपयले अहिले मोबाइलले गर्दा बाकसमा थन्काएका होलान् । एफएम रेडियोको पनि कमी छैन । च्याउ उम्रे जस्तै छ्यापछ्याप्ती खुलेको अवस्थामा छन् । कम्तीमा पनि दुइ तिन एफएम स्टेसन प्रत्येक जिल्लामा सञ्चालनमा नै छन् । अधिकांश समय गीत बजाएर बसेका छन् ।
केही बालबालिकाहरुको घरमा रेडियो नहुन पनि सक्छ । त्यस्ता विद्यार्थीहरुको पहिचान गरेर स्थानीय सरकार तथा शिक्षाको भजन गाउने संघ सस्थामार्फत् व्यवस्था मिलाउन सकिन्छ ।

गाउँघरमै ठूलो मन भएका समाजसेवीहरु हुनुहुन्छ । उहाँहरुसँग समन्वय गरेर पनि नहुनेका लागि रेडियोको व्यवस्था गर्न सकिन्छ । नभए ८० करोड राहत बाँड्ने सरकार छ । रेडियो बाँड्न पनि कञ्जुस्याइँ नगर्ला । आशा चाहिँ गरौं, भर चाहिँ नपरौं । अन्य वैकल्पिक उपाय पनि खोजौं र सबैको घरमा रेडियोको व्यवस्था गरौं । ५०० देखि नै रेडियो किन्न पाइन्छ धेरै खर्चिलो पनि छैन ।

कसरी सञ्चालन गर्ने ? 
हामीसँग धेरै सरकारी निजी आइसिटीका विज्ञ शिक्षकहरु र विषय विज्ञ शिक्षकहरु छन् । तहगत रुपमा विषयगत सेसन तयार पार्न शिक्षक हरुलाई आह्वान गरौं । आफूले शिक्षण गर्ने विषयको कक्षा शिक्षकले घरमा नै बसेर तयार पार्छन् र सम्बन्धित निकायमा पठाउँछन् । त्यसको नेतृत्व शिक्षा मन्त्रलालय र उसका मातहतका कार्यालयले गर्नुपर्छ र विषय विज्ञको टोली बनाउनुपर्छ । शिक्षकबाट आएका कन्टेन्टहरुबाट छानेर राम्रो कन्टेन्टलाई मिसाएर एउटा फाइनल सेसन अडियो तयार गर्न सकिन्छ ।

पक्कै पनि यो एकहोरो हुने हुँदा विद्यार्थीहरुमा मोनोटोनस हुन सक्छ । रुची घट्न सक्छ । यसलाई रमाइलो र सुनौं सुनौं लाग्ने बनाउन र व्यवहारिक बनाउन विषयगत विज्ञहरुको टोलीले उत्तिकै मिहनेत चाहिँ गर्नु नै पर्छ । सबै एफएम रेडियोमा इन्टरनेटको पहुँच राम्रै छ । फाइनल भएको अडियोलाई एपएममार्फत् अनुकूल समय मिलाएर पुनः प्रसारण गर्न सकिन्छ ।

यसको लागि रेडियोमार्फत् नै सूचना अभिभावक विद्यार्थी सामु पुर्याउन चुक्नु हुँदैन । हामीले तयार पारेको कन्टेन्ट विद्यार्थीसमक्ष पुर्याउन सकिएन भने ‘हाम्रो लगानी बालुवामा पानी’ भनेझैँ पनि हुनसक्छ । तसर्थः विद्यार्थीहरुलाई रेडियो सुन्ने वातावरणमा विशेष ध्यान दिनैपर्छ । सुने नसुनेको त्यसबाट परेको प्रभाव बुझ्ने संयन्त्र पनि बनाउन सकिन्छ । जसले विद्यार्थीहरुले रेडियो सुनेको र रेडियोबाट सिकाइ भइरहेको कुरा सुनिश्चित गर्न सकियोस् ।

यसको लागि वडा तहमा शिक्षा समितिमार्फत् सहजीकरण गर्न सकिन्छ । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय शिक्षक अभिभावकलाई समेटेर समिति निर्माण गर्न सकिन्छ । पालिका स्तरमा शिक्षा शाखा प्रमुखको अगुवाइमा अभियान सञ्चालन गर्न सकिन्छ । जिल्ला स्तरमा शिक्षा विकास तथा समन्वय इकाइको नेतृत्वमा र केन्द्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइबाट सञ्चालन हुने संयन्त्र निर्माण गरेर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ ।

फोनको माध्यमबाट पनि अनुगमन गर्न सकिन्छ । नेट चल्ने ठाउँमा मेसेन्जर ग्रूप बनाएर पनि सल्लाह सुझाव आदानप्रदान गर्न सकिन्छ ।

विषयवस्तुका कुरा
हामीसँग विभिन्न तह र कक्षाका विद्यार्थीहरु छन् । सबैलाई सिकाउन जरुरी छ । हामीले सिकाउने विषयवस्तु कुन तहको हो ? कुन कक्षाका विद्यार्थीका लागि हो ? यसले सिकाउन खोजेको कुरा केहो ? विषयवस्तु सिकाइ उपलब्धिमा केन्द्रित हुन जरुरि छ । मूल्यांकनको पाटोलाई पनि छुटाउनु हुँदैन ।

कहीँ न कतै मूल्यांकनलाई पनि जोडेर लानुपर्छ । विषयवस्तुका साथ साथै गृहकार्यको रुपमा कक्षा सञ्चालनको समयपछि घरमै बसेर गर्न मिल्ने काम पनि दिन सकिन्छ । त्यो दिएको कामलाई गरे नगरेको अनुगमन अभिभावकले गर्दिन सक्छन् । एउटा घरमा विभिन्न कक्षाका विद्यार्थीहरु हुन सक्छन् । ठूला कक्षाको विद्यार्थीले सानो कक्षाको भाइ बहिनीलाई सहयोग गर्न सक्छन् । छिमेकीमा शिक्षक नै पनि हुन सक्छन् , शिक्षकलाई पनि देखाउन सकिन्छ । अन्य कुनै पढेलेखेका व्यक्तिहरु पनि हुन सक्छन् ।

अहिले सबै मान्छेहरु घर फर्केको अवस्था छ । उनीहरुले पनि सहयोग गर्न सक्छन् । अत: प्रत्येक सेसनको अन्त्यमा विद्यार्थीहरुलाई विषयसँग सम्बन्धित काम दिन पनि बिर्सिनु हुँदैन । कन्टेन्ट मात्र राम्रो भएर हुँदैन । यस कार्यक्रमलाई प्रभावकारी बनउन अभिभावकहरुको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकलाई रेडियो शिक्षाका बारेमा पहिले बुझाऔं अनि घरमा नै रेडियोबाट सिक्ने वातावरण सिर्जना गराउनको लागि अभिभावकलाई प्रेरित गरौं ।

सकभर बालबालिका सँगै बसेर अभिभावकलाई पनि सिकाइ वातावरणमा सहभागी गराउने प्रयास गरौं । कक्षा सुनिसकेपछि आवश्यक प्रश्न सुझाव संकलन गर्ने व्यवस्था पनि मिलाऔं र सोही अनुसार समस्याको समाधान र जिज्ञासा मेटाउने प्रयास पनि गर्दै जाऔं । सुझाव संकलन गर्दै कार्यक्रमलाई परिमार्जन गर्दै जाऔं । बेला बेला स्थानीय तहबाट अनुगमनको व्यवस्था पनि गरौं ।

अहिलेको हाम्रो देशको परिवेशमा विद्यार्थीसमक्ष पुग्ने सजिलो माध्यम भनेको रेडियो नै हो । अपनाउन सके त अन्य विकल्प पनि झन उत्तम हुन सक्थे तर ती असम्भव कुरामा समय बर्बाद नगरौं । ‘सबैलाई समान शिक्षा’ भन्ने नारा मात्र भयो । जब सबैलाई समान ढंगले सिकाइदैँन ।  भने शिक्षामा समान अवसर कसरी हुन्छ ? त्यसैले सबैलाई समान बनाउन सबैलाई समान ढंगले सिकाऔं ।

भोलि बझाङदेखि ताप्लेजुङ र हुम्लादेखि सोलुखुम्बुसम्मका हुँदा खाने फाटोलुगा लगाएर विद्यालय जाने विद्यार्थीहरुले काठमाडौं शहरका आइप्याड चलाउने हुने खानेका बच्चाहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । यो पनि राज्यले विचार पुर्याउ नै पर्छ । अहिलेलाई रेडियो कै अभ्यास गरौं । पछि हाम्रा नेताज्यूहरुले भनेजस्तै सिंगापुर र स्वीट्जरल्याण्ड जस्तै यो देश बनाउन सक्यौं भने भर्चुअल कक्षा कोरोनाको महामारीमा मात्र होइन ।

अरु बेला पनि चलाऔंला । अब हामी ढिलो भइसक्यौं । अझैं ढिलो नगरौं । विद्यार्थीहरुमा रहेको अन्यौललाई कम गर्न भएपनि चाँडो एक्सनमा जाऔं । अहिलेलाई सबैको पहुँचमा पुग्न सक्ने रेडियोको अभ्यास गरेर हेरौं ।

लेखक रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक तथा सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव हुन् ।

Post a comment