info@reednepal.org
(977) 1 5521942 / 5010980, Hotline number: 9840088343, Child safeguarding focal person number

Blog

कार्यक्षेत्र बिस्तार गर्न रिडलाइ सरोकारवालाको प्रस्ताव

कार्यक्षेत्र बिस्तार गर्न रिडलाइ सरोकारवालाको प्रस्ताव

 

खगेन्द्र अधिकारी
ताप्लेजुङ,१२ असोज । ताप्लेजुङका सरोकारवालाहरुले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपाललाइ कार्यक्षेत्र बिस्तार गर्न प्रस्ताव गरेका छन् । जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक परीक्षण कार्यक्रममा सरोकारवालाले कार्यक्षेत्र बिस्तारको प्रस्ताव गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले रिडको कार्यक्रम प्रभावकारी देखिएकोले यसको कार्यक्षेत्र जिल्लाभर बनाउन प्रस्ताव गर्नुभयो । उहाँ रिड नेपालको जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष समेत हुनुुहन्छ । सिरिजंगा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले थोरै बजेट भएपनि ताप्लेजुङको शिक्षा क्षेत्रमा रिडको अभियान लोभलाग्दो रहेको भन्दै यसको दाहेरा फराकिलो बनाउन सके जिल्लाले अझै बढी लाभ लिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शिक्षामा रिडले पारेकोे सकारात्मक प्रभावको लाभ जिल्लाभर नै हुने वातावरण बनाउन रिडका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तसंग अनुरोध गर्नु भएको छ । सम्भव भए जिल्लाभर र नभए पालिकामा क्रमशः१–२ बर्ष सम्म भएपनि रिडको कार्यक्रम सञ्चालन भए जिल्लाको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने पाण्डेको भनाइ थियो । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराइले संयुक्त अनुगमन गर्ने संयन्त्र जरुरी रहेको खाँचो औंल्याउँदै कार्यक्षेत्रको दाहेरा बढाउन रिडलाइ अनुरोध गर्नुभयो । सन् २००७ देखि ताप्लेजुङमा काम गर्दै आएको रिडको कार्यक्षेत्र अहिले फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ४ इखाबु,५ तापेथोक,६ लेलेप र ७ ओलाङ्चुङगोला र सिरिजंगा गाउँपालिकाको वडा नं ८ याम्फुदिन,७ खेवाङ र ६ मामाङ्खेमा मात्र रहेको छ । रिड बाल अधिकारको प्रवद्र्धन गर्दै नेपालको उच्च हिमाली,पहाडी र ग्रामीण भेगमा शिक्षा र वातावरण विकासको क्षेत्रमा काम गर्नेगरी सन् २००० मा स्थापना भएको संस्था हो । रिडले नेपालमा गुणस्तरीय शिक्षा स्थापना गर्नका लागि आफुलाइ उत्कृष्ट केन्द्र बनाउने दीर्घकालिन सोच राखेको छ । गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम,गतिशिल परियोजना,बिद्यालय निर्माण परियोजना,अभिभावक सचेतीकरण तथा सहभागिता कार्यक्रम,उच्च शिक्षा छात्रबृत्ति परियोजना र तत्काल प्रतिफल परियोजना रिड नेपालले ताप्लेजुङमा सञ्चालन गरेका कार्यक्रम हुन् । रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार दुई गाउँपालिकाका ३५ बिद्यालयमा रिडले आफ्नो अभियान सञ्चालन गर्छ । रिडको कार्यक्षेत्र भित्र २ हजार ६ सय ५२ बिद्यार्थी र २ सय २८ जना शिक्षक रहेका छन् । गुणस्तरीय शिक्षा कार्यक्रमका लागि रिडले कार्यक्षेत्र भित्रका हरेक बिद्यालयमा सिकाइ वातावरण सुधार योजना बनाएर सहजीकरण गरेको छ भने बिद्यालयमा अभिभावकको योगदान रहने कार्यतालिका समेत बनाएको छ । अभिभावक सचेतीकरण कार्यक्रमले अभिभावकद्धारा आ–आफ्ना बिद्यालयमा नियमन्,रेखदेख र अत्यावश्यक पर्ने सामग्री स्फुर्त बितरणका कार्य समेत हुने गरेको रिडले जनाएको छ । बिद्यालय बन्द रहेको बेला स्व–अध्यन पुस्तिका बितरण,महिला शसक्तिकरण,घरेलु हिंसा बिरुद्ध बोल्न सक्ने क्षमताको विकास गर्ने कार्यक्रम समेत रिडले सञ्चालन गरेको छ । बिद्यालयमा लगबुकको प्रयोगले बिद्यार्थी तथा शिक्षकलाइ थप जिम्मेवार बनाउन योगदान पुगेको रिडको ठम्याइ छ । रिडले सामाजिक परीक्षणमार्फत आफ्नो कार्यक्षेत्रमा सिकाइ उपलब्धी ५८ बाट बढेर ६८ प्रतिशत पुगेको समेत जनाएको छ । कार्यक्षेत्र भित्रका बिद्यालयबाट बिद्यार्थीको कक्षा छोड्ने दर १.४ प्रतिशत रहेको समेत उसले जनाएको छ । जिल्लाभरको कक्षा छाड्ने दर २.७ प्रतिशत र राष्ट्रिय दर ३.४ प्रतिशत रहेको छ । रिडले आफ्नो कार्यक्षेत्रमा अभिभावक स्वयंले तालिका बनाएर बिद्यालयको अनुगमन गर्ने गरेको,कमजोर बिद्यार्थीका लागि छुट्टै कक्षाकोठाको व्यवस्था गरी निरन्तर सिकाइमा ध्यान दिएको,नियमित रुपमा गरिने शिक्षक समिक्षा कार्यक्रममार्फत असल अभ्यासको आदानप्रदान,चुनौतीको बाँडफाँड र आगामी योजना बनाउन सकिएको जस्ता बिषयलाइ असल अभ्यास भएको समेत बताएको छ । रिडले आर्थिक बर्ष २०७७।०७८ मा ७७ प्रतिशत बित्तीय प्रगति गर्दै ३ करोड ४ लाख १२ हजार ५ सय ९८ रुपैंया बजेटमध्ये २ करोड ३५ लाख ९२ हजार ७ सय १ रुपैंया खर्च गर्न सकेको समेत जनाएको छ ।

Post a comment